पृष्ठभूमी

ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.स्थापना हुनु पूर्व आर्थिक, सामाजिक रुपमा पछि परेका माकर गा.वि.स. को विशेषगरी वडा नं.१ र ७ मा बसोवास गर्ने जनसमुदायलाई कुनै माध्यमबाट आयमूलक कार्य गराउन सके जीवन स्तरमा केही सुधार आउने थियो कि भन्ने सोचाई रहि आएको थियो । यसै क्षेत्रका केही युवा तथा समाजसेवीको सक्रियतामा पहिले नै स्थापित श्री वी.पी. स्मृति क्लब ले पशुपालन परियोजना सञ्चालन गर्ने उद्देश्य लिई ऋण प्रवाह गर्नको लागी ऋण माग गर्न नेपाल राष्ट्र बैंक केन्द्रिय कार्यालयमा पत्राचार तथा सम्पर्क गर्दा बैंकले ६ महिना अगाडिदेखि बचत कार्य सञ्चालन गर्दै ऋण प्रवाह समेत गरी रहेको सामाजिक संस्थालाई मात्र (सम्भाव्यता अध्ययन गरी) ऋण प्रदान गर्न सकिने प्रावधान रहेको व्यहोरा २०५० साल फाल्गुन १७ मा बैंकले क्लबमा पत्राचार समेत गरी अवगत गराएपछि यस क्षेत्रका जागरुक समाजिक कार्य गर्न इच्छुक व्यक्तिहरुलाई बचत तथा ऋण सहकारी संस्था  सञ्चालन गर्न अभिप्रेरित तुल्यायो । फलस्वरुप २०५१ साल आश्विन २४ मा ३० जना उत्साही, सहकारी प्रेमी व्यक्तिहरु भेला भइ ७ सदस्यीय तदर्थ समिति गठन भयो । जसमा अध्यक्ष कृष्ण बहादुर गुरुङ्ग, सचिव वसन्त कुमार रेग्मी, कोषाध्यक्ष गोकर्ण कुमार क्षेत्री,सदस्यमा डिल्ली कुमार श्रेष्ठ,गुप्त बहादुर खत्री, तपचन्द्र “प्रयासी” र ओल बहादुर थापा रहनुभएको थियो । तदर्थ समितिले विनियम बनाई बचत तथा ऋण कार्य शुरु गरे पछि वि.सं. २०५१ साल फाल्गुन ०१ गते डिभिजन सहकारी कार्यालय नवलपरासी मा १८–०५१÷५२ मा दर्ता गराए पश्चात ग्रामीण सकोसले विधिवत जम्म लियो ।